५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सरकारमा रहेका काँग्रेसका मन्त्रीहरुले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौं : शेखर कोइराला


1.729k
Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरेपनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले नेपाली काँग्रस सत्ता पक्ष भएपनि सरकारमा नरहेको अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिलाई लिएर कतिपयले काँग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट शुरु भएको अनुमान गरेका थिए ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सांसद कोइरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभइ पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरुले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आगामी निर्वाचनमा पनि एमाले नै काँग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरुले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताउनुभयो ।

०८२ मंसिरभित्र अधिवेशन नभए देश, लोकतन्त्र र काँग्रेस अफ्ठ्यारोमा पर्छ

नेता कोइरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरुको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताउनुभयो । तोकिएको समयभन्दा पछि धकेलेर अधिवेशन गरे काँग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताउनुभयो ।

सांसद कोइरालाले भन्नुभयो, ‘हामी एमाले र नेपाली काँग्रेसको सरकार छ । करिव करिव दुई तिहाइको सरकार छ । दुई तिहाइको सरकार चलाउँदा नेपाली काँग्रेस कतै अफ्ठ्यारोमा त पर्दैन भन्ने एउटा छ । हाम्रो भोलिको प्रतिष्पर्धी पनि को हो भन्दा एमाले नै हुन्छ । जो साथीहरु मन्त्रीमण्डलमा सरकारमा जानुभएको छ, ति साथीहरुले एमालेसँग सहकार्य गर । हामी जो बाहिर छौँ, सत्ता पक्षमा छाँै तर बाहिर छौँ । हामी प्रतिष्पर्धी एमाले नै हुन्छ, भोलिको निर्वाचनमा पनि । हामीले खबरदारी गरिरहनु पर्छ यो सरकारलाई ता की सरकारले राम्रो काम मात्रै गरोस्, गलत काम नगरोस् भन्ने हो ।’

सांसद कोइरालाले सरकारलाई खबरदारी गर्नु आफूहरुको दायित्व भएको बताउनुभयो ।- न्युज एजेन्सी नेपाल