
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा माओवादी सांसदहरुले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा पर्नु सरकारको असफलता भएको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
माओवादी सांसद माधव सापकोटाले असफल सरकारको प्रधानमन्त्रीले तत्काल मार्ग प्रशस्त गर्नुपर्छ भन्नुभयो । सरकारको अकर्मण्यता र वित्तीय क्षेत्रमा सुधार गर्ने अठोटको अभावका साथै सुशासनहीनताका कारण देश अन्तर्राष्ट्रिय जगतमा लज्जाजनक अवस्थामा पुगेको उहाँको जिकीर थियो ।
बैठकमा आकस्मिक समय लिएर बोल्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जसले जति आलोचना गरे पनि गणतन्त्रको विरोध गरिरहने बताउनुभयो । आफू राजालाई राजनीति र राज्य सञ्चालनमा स्पेस दिनुपर्छ भन्ने मान्यतामा अडिग रहेको भन्दै उहाँले गणतन्त्र जसले लडेर ल्याएको होस या विदेशीको बुइ चढेर ल्याएको होस् यो व्यवस्थाको विरोध गरिरहने बताउनुभयो । लिङदेनले पाथीभरामा व्यापारिक स्वार्थका लागि भाइभाइ जुधाउने काम भइरहेको भन्दै केवलकार निर्माणको काम रोक्न माग गर्नुभयो ।
तर एमाले सांसद योगश भट्टराईले संवैधानिक व्यवस्था अनुसार नै ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको काम अगाडि बढेको दाबी गर्नुभयो । विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सिमामा रहेर विरोध गर्नुपर्ने भन्दै उहाँले विकास निर्माण र धर्म-संस्कृतिमाथि राजनीति प्रवेश गराउँदा त्यसले डरलाग्दो रुप लिने बताउनुभयो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोषिमा कार्कीले पनि पाथीभरामा केवलकार निर्माणको काम तत्काल रोक्न सुझाव दिनुभयो ।
अर्का एमाले सांसद गोकुल बास्कोटाले विदेशी सहायता लिन र परिचालनका लागि राष्ट्रिय नीति बनाउन ढिला भइसकेको भन्दै तत्काल त्यसतर्फ कदम चाल्न सुझाव दिनुभयो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेपाललाई दिएको वित्तीय सहायतालाई फ्रड भनेकोप्रति आपत्ति जनाउँदै बास्कोटाले अब आँखा खोल्ने बेला भएको बताउनुभयो ।
यसैगरि नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउन माग गर्नुभयो । हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउने हो भने भ्रष्टाचार र अवैध तरिकाले आर्जन गरी थुपारेको पैसा काम नलाग्ने हुने उहाँको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस्