
नेकाठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालसँग आवश्यक जनशक्ति नहुँदा जयनगर-जनकपुर रेल्वे सेवा घाटामा गएको बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
मन्त्री दाहालले रेल्वे विधेयक बनाउँदा ३ वर्ष अनुभव भएको मान्छेलाई कोपाइलट, लोको पाइलट काम गर्न पाउने भनेर लेख्दा अहिले जनशक्ति अभाव भएको उल्लेख गर्नुभयो ।
नेपालमा रेल्वे सेवा सञ्चालन नहुने र अनुभवी खोज्दा भारतसँग निर्भर रहनुपरेको बताउनुभयो । भारतसँग निर्भर रहँदा सञ्चालनका लागि भारतीय सरकारी कम्पनी कोनकोनलाई २४ करोड दिइरहनुपरेको बताउनुभयो ।
मन्त्री दाहालले उक्त कानून नसच्याएसम्म रेलवेसेवा घाटामा नै जाने देखिएकाले अहिले सरकारले कानून सच्याउन लागेको बताउनुभयो । रेल्वे सेवा नाफामा ल्याउन सरकारले कार्गो रेलको पहल गरिरहेको बताउनुभयो ।
आन्तरिक जलमार्गलाई व्यवस्थित बनाउन जलमार्ग बनाउने ड्रेजिङ मेसिन किन्ने तयारी गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्