२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सीमा अपराध न्युनिकरण गर्न सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन गर्न लागिएको हो : गृहमन्त्री लेखक


1.677k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी सेवालाई जवाफदेही एवं प्रभावकारी बनाउँदै मुलुकमा शान्ती सुव्यवस्था, सीमा सुरक्षा र सिमा अपराधलाई नियन्त्रण गर्नको लागि सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्न लागिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विधेयकमाथि सांसदरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लेखकले प्रस्तुत विधेयकमा सशस्त्र प्रहरी ऐन, २०५८ तथा सशस्त्र प्रहरी नियमावली, २०७२ का प्रावधानहरुलाई धेरै हदसम्म मिलाइएको दाबी गर्नुभयो ।

गृहमन्त्री लेखकले विधेयकमा सशस्त्र प्रहरी बल नेपाललाई आवश्यक पर्ने हातहतियार तथा खरखजना नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । उहाँले विधेयकमा संविधानले परिकल्पना गरेबमोजिम राज्यको सुरक्षा अंगलाई समावेशी र राष्ट्रिय स्वरुपको बनाइएको दाबी गर्नुभयो ।

गृहमन्त्री लेखकले विधेयकमा कार्यकुशलता, कार्यक्षमता, ज्येष्ठता, उत्तरदायित्व वहन गर्नसक्ने क्षमताको आधारमा प्रहरी महानिरीक्षकको नियुक्ति गर्ने व्यवस्था गरिएको बताउनुभयो ।

विधेयकमाथि सोमबार ५१ जना सांसदहरुले धारणा राखेका छन् । अधिकांश सांसदरुले सशस्त्र प्रहरीको संचालन प्रमुख जिल्ला अधिकारीलाई दिनु नहुने धारणा राखेका छन् । नेपाली प्रहरी र सशस्त्र प्रहरी बलको कार्यादेश स्पष्ट हुनुपर्ने उनीहरुको भनाइ छ ।