१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


पशुपति क्षेत्रमा चहलपहल शुरु


65
Shares

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रीको चहलपहल शुरु भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार ४ हजार ५ सय बढी साधु सन्तसहित भक्तजनहरुको भीड लाग्न शुरु भएको छ । यस वर्ष पनि नेपालसहित भारत र श्रीलंका लगायतका देशबाट साधु सन्त आउने क्रम जारी छ ।

त्यस्तै विभिन्न देशबाट भक्तजनसहित पर्यटकको पनि पशुपति क्षेत्रमा चहलपहल बढेको छ । शिवरात्रीलाई लक्षित गरेर पशुपति क्षेत्रमा रंगरोगन गर्ने कामदेखि सजावटको काम पनि भइरहेको छ । शिवरात्रीको दिन बिहान साढे दुई बजेदेखि नै मन्दिरमा दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

शिवरात्रीमा पशुपति क्षेत्रमा गाँजा, भाङ्लगायतका लागु औषध किनबेच र सेवन हुने भएकाले यस्ता पदार्थहरुको किनबेच र सेवन कडाइका साथ रोक्ने प्रहरीले जनाएको छ । शिवरात्रीका लागि ४ हजार प्रहरी परिचाल हुने भएको छ ।

बुधबार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ । पशुपति क्षेत्र विकास कोषले ५ लाख दर्शनार्थीले भोली पशुपति दर्शन गर्ने सम्भावना रहेको बताएकाले त्यसको व्यवस्थापनका लागि ती क्षेत्रमा सवारी चलाउन रोक लगाउन लागेको हो ।

पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा पुरानो बानेश्वरदेखि चावहिल, तिलगंगादेखि कालोपुलसम्मको क्षेत्रबाट सवारी प्रवेशमा कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ ।