१४ फाल्गुन २०८१, बुधबार | Wed Feb 26 2025


पशुपतिमा साधु, सन्त र भक्तजनको चहलपहल


0
Shares

काठमाडौं । महाशिवरात्री पर्वका लागि पशुपतिनाथ क्षेत्रमा देश विदेशबाट आएका साधु सन्त र भक्तजनहरुको चहलपहल व्यापक बढेको छ । शिवरात्री पर्वको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रमा पुग्दा सयौं साधु सन्त र भक्तजनहरु भेला भईसकेका थिए भने उनीहरु आफ्नै पारामा रमाईरहेका पनि पाइयो ।

महाशिवरात्रीको पूर्व सन्ध्यामा देश र विदेशबाट आएका साधु सन्तहरु विशेष गरि राम मन्दिरको वरिपरी धुनी जगाई बस्दा शिवरात्रीको रौनक बढेको देखियो. । पशुपति क्षेत्र विकास कोषले ६ हजार साधु आईपुग्ने अनुमान गरेको छ भने शिवरात्रीको अवसर पारेर देश विदेशबाट पशुपति आउने साधुसन्तहरुका अनेक रंग र रुपले सर्वसाधारणको समेत ध्यानाकर्षण गर्ने गर्दछ ।

हरेक वर्ष झै प्रहरीले यो वर्ष पनि गाँजा भांग जस्ता लागुपदार्थ बेच बिखनमा कडाई गर्ने गरेको घोषणा गरेतापनि दृश्यमा त्यस्तो देखिएन ।

शिवरात्रीका लागि आएका साधु सन्तहरुले खुलेआम गाजा बेचिरहँदा शिवरात्रीकै लागि भनि परिचालन गरिएका एकजना सुरक्षाकर्मी पनि देखिएन । त्यसैले त खुलेआम यसरी गाजा तान्नमा युवाहरु पनि मस्त देखिन्छन् ।

शिवरात्रीका लागि हरेक वर्ष सरकारको आलोचना गर्ने साधुसन्तहरु भने यो वर्ष निकै खुशी छन् । उनीहरु भन्छन् सरकारले दिने सुबिधाका कारण हरेक वर्ष शिवरात्रीमा पशुपति नै आइन्छ ।

त्यसो त सरकारले उनीहरुका लागि गरेको आवास र दाउरा अनि निशुल्क खानपानको ब्यबस्थाका बीच चोरी हुने गरेकोमा केही साधुहरुले आक्रोश पनि पोखे । केही साधुहरुले सर्वसाधारण भक्तजनहरुलाई हैरान पार्ने पनि छन् । नेपाल, भारत र श्रीलंका लगायतका देशबाट साधु सन्त आउने क्रम जारी रहंदा विदेशी नागरिक पनि साधु बनेको देखिया ।

पशुपतिमा शिवरात्रीको रौनक हेर्न पर्यटकको पनि पशुपति क्षेत्रमा चहलपहल बढेको छ । शिवरात्रीकै लागि विभिन्न संघ संस्थाका नाममा गरिएका भजन, कीर्तनले वातावरणलाई मन्त्रमुग्ध बनाएको छ । जे होस् शिवरात्रीकै नाममा नेपाल भित्रिने साधुसन्तका कारण यसको महिमा अझै बढाएको छ ।