
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले स्वास्थ्य सेवा सहज उपलब्ध हुने अवस्था सिर्जना भएपनि प्रभावकारी बनाउन नसकिएको स्वीकार गर्नुभयो । उहाँले कामको अनुभवबाट पनि स्वास्थ्य सेवा प्रवाह विकसित र परिवर्तन गर्दै जानुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सेवा दिनै नसकिने फितलो अवस्थामा नभएको जिकिर गर्नुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले विशिष्ट क्षमता भएका व्यक्तिले मात्रै स्वास्थ्य सेवा दिनसक्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीले दबाबमा काम गर्न नसक्ने भन्दै दबाबमुक्त भएर काम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्यभुति सरकारले दिनुपर्ने उहाँको भनाइ छ ।
स्वास्थ्यमन्त्री पौडेलले सिमित पूर्वाधार, जनशक्ति र उपकरणले स्वास्थ्य सेवा बिस्तार गर्नुपर्ने बाध्यता भएको बताउनुभयो । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य सेवा ऐन ल्याउने तयारी भइरहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्