
उदयपुर । स्थानीय पर्यटन प्रवद्र्धन, स्वास्थ्य, एकता र वातावरणीय प्रदुषण रोकथाम गर्ने उद्देश्यले उदयपुरमा ’राइड टु कोशी’ कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।
जिल्ला साइक्लिङ संघ र नेपाली सेनाको संयुक्त आयोजनामा गरिएको साइक्लिङ यात्रा ’राइड टु कोशी’ कार्यक्रमको शुक्रबार त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले सुरुवात गर्नु भएको हो ।
साइक्लिङ यात्रामा देश भरका ३५ बढी जिल्लाका ३०० बढी साईकल राईडरहरुले सहभागिता जनाएका छन । दनुवार जातीको रामदल नृत्य, स्थानीय झाँकी प्रदर्शन गर्नुका साथै पन्चेबाजा सहितको टोलीले साइक्लिङ यात्रामा संलग्नलाई स्वागत तथा बिदाई गरेका थिए ।
साइकललाई समाज संग जोडेर स्थानीय पर्यटन प्रवद्र्धन, स्वास्थ्य, एकता र वातावरणीय प्रदुषण रोकथाम गर्दै साइकलको माध्यमबाट खेल, पर्यटन जोडेर आय आर्जनमा समेत टेवा पुर्याउने उद्देश्यले ’राइड टु कोशी’ कार्यक्रमको आयोजना गरिएको आयोजक जितु रोइलाले बताउनुभयो ।
समाजमा सकारात्मक संदेश दिने र स्वास्थ्य, एकता र स्थानीय पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पार्ने हुदा यस्ता कार्यक्रमलाई नगरपालिकाले बिशेष व्यवस्था गरि युवाहरुले चाहे बमोजिमको बजेट व्यवस्था गर्ने नगरपालिकाका प्रमुख बस्नेतले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्