१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


सुपादेउराली मन्दिरको निर्माण कार्यमा अन्यौल


559
Shares

अर्घाखाँची (सागर महत) । अर्घाखाँचीको प्रसिद्व सुपादेउराली मन्दिरमा एक वर्षमा एक करोड ७९ लाख ११ हजार ८ सय ५३ आम्दानी भएको छ । तर खर्चको विवरण सही नआउँदा र अझै निर्माण नहुँदा यसमा प्रश्न खडा भएको छ ।

यो आर्थिक वर्ष २०८०/८१ को आम्दानी हो । भेटीबाट उठेको रकम एक करोड ४९ लाख ११ हजार ८ सय ५३ रुपँया र अक्षकोषमा परिणत गरिएको भेटीको रकम ३० लाख रहेको मन्दिर व्यवस्थापन समितिले १३ औं साधारण सभाबाट जानकारी दिएको छ । तर मन्दिरले गर्ने खर्चको विवरण सही तरिकाले बाहिर नआएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।

आदर्श माध्यमिक विद्यालय, शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालयलगायतका विद्यालयमा शिक्षकको तलब भनेर वार्षिक २२ लाख ८६ हजार ४ सय १४ रुपँया खर्च गरेको पाइएको छ । यस विषयमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्यले शिक्षकलाई मन्दिरको भेटीबाट तलब दिने नभएर नगरपालिकाले व्यवस्थापन गर्ने बताउनुहुन्छ ।

विशेष गरि सानो मन्दिरलाई आफ्नो निजी लगानीमा ठुलो मन्दिर निर्माण गरिदिने र यो मन्दिरको देशमा मात्र नभएर विदेशमा समेत चिनाइदिने स्वर्गीय नरनारायण बाबाको शालिक निर्माणमा ७० हजार खर्च भएको देखाए पनि अझै सालिक राखिएको छैन ।

मन्दिरमा २०७८ देखि ८१ माघसम्म ६६ तोला ९८ पायन्ट सुन र १ सय ५६ तोला चाँदी जम्मा भएको पाइएको छ । मन्दिरले धार्मिक संघ संस्थालाई २९ लाख ८९ हजार ७६, विविध खर्च ४२ लाख ७ हजार ६ सय ७ रुपैयाँ, यातायात २ लाख ४ हजार मन्दिर व्यवस्थापन र पारिश्रमिकमा २० लाख बढी खर्च लगायतका खर्चको विवरण प्रष्टसँग नखुलाई आउँदा यसमा प्रश्न चिन्न खडा भएको हो ।

मन्दिर व्यवस्थापन समितिले दर्शन गर्न सहज बनाउन संरचना ठुलोदेखि सामाजिक क्षेत्रमा गरेका काम सकारात्मक भएपनि आर्थिक विषयमा जिम्मेवारी नदेखाएको पाइएको छ ।