
धनकुटा, असार ६ । बाढी आउन थालेसँगै सप्तकोशी नदीमा सञ्चालित जेटबोट सेवा बन्द भएको छ ।
पहाडी क्षेत्रमा केही दिनयता निरन्तर बर्षाका कारण ढुंगामुढासहितको बाढी आउन थालेपछि जेटबोट सञ्चालन बन्द गरिएको हो । धनकुटाको शहीदभूमि गाउँपालिका वडा नं. १ सिम्लेघाटवाट त्रिवेणी, वराहक्षेत्र हुँदै सुनसरीको चतरासम्म वराहक्षेत्र जल यातायातले करिब ३ करोड लागतमा वैशाख १ गतेदेखि जेटबोट सञ्चालनमा ल्याएको थियो ।
जेटबोट सञ्चालनपछि पूर्वी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, उदयपुर र खोटाङका बासिन्दालाई तराई आउजाउ गर्न सहज भएको थियो । जेटबोट बन्द भएसँगै दुधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीबाट कोशी किनारको अक्करे भीर छिचोल्दै यात्रु दैनिक पैदलै चतरा पुग्ने गरेका छन् ।
चतराबाट त्रिवेणीसम्म सडक ट्रयाक नखुल्दा आउजाउ गर्न जेटवोटले सहज भएको थियो । सप्तकोशीका मुख्य सहायक नदी अरुण, दुधकोशी र तमोरमा अहिले पानीको बहाव बढेसँगै जेटबोट सञ्चालन गर्न जोखिमपूर्ण भएको वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिका प्रवन्ध निर्देशक विमलमान श्रेष्ठले जानकारी दिए ।
जेटबोट सञ्चालनसँगै धनकुटाको सिम्लेघाटदेखि चतरा गढतिरको बाटो करिब ६ घण्टाको दुरी १५ मिनेटमा छोटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्