१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


स्ववियु निर्वाचन प्रक्रिया आजदेखि शुरु


325
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन प्रक्रिया आजदेखि शुरु भएको छ ।

आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि शुरु भएको हो । आज सोमबार दिउँसो ३ बजेसम्ममा संघ, संगठन र समूह दर्ता प्रक्रिया शुरू गर्ने गरी सबै क्याम्पसमा कार्यतालिका पठाइसकेको त्रिविले जनाएको छ ।

कार्यतालिका अनुसार फागुन २१ गते बिहान १० बजे मतदाता सूची प्रकाशन, २५ गते मतदाता सूचीउपर दाबी विरोध र सोही दिन बेलुकी ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

यस्तै फागुन २६ गते मनोनयनपत्र वितरण गर्ने, २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता, २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरिने र अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।

यसैगरि कार्यतालिका अनुसार २९ गते दिउँसो १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिइ अन्तिम नामावली प्रकाशन हुनेछ । त्यस्तै फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्ने समय तोकिएको छ ।

यसपछि मौन अवधि शुरू हुनेछ । मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने तालिका रहेको छ ।