१९ फाल्गुन २०८१, सोमबार | Mon Mar 3 2025


हिमपहिरोमा ४५ भेडा मरे, २३ पुरिए


754
Shares

बझाङ । बझाङको साईपाल गाउँपालिकामा हिमपहिरोमा परी ४५ भेडा मरेका छन् । त्यस्तै हिमपहिरोमा परि २३ भेडा पुरिएका छन् ।

गत शनिबार दिउँसो साईपाल गाउँपालिका ४ का जयपाल रोकायाका भेडा हिम पहिरोमा परेर केही मरेका र केही पुरिएका हुन् ।

वडा नम्बर ४ को गुडपाल सामुदायिक वनको ओडारमा डेरा गरी भेडा चराइरहेको समयमा बरम डाँडामा हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक किशोर जोशीले जानकारी दिनुभयो ।

रोकायाका १ सय २५ भेडा रहेकोमा ४५ भेडा हिम पहिरोमा परि मरेको जनाइएको छ । प्रहरीको टोली घटनास्थलमा पुग्दा ४५ भेडाहरूमध्ये १९ वटा पुरिएको अवस्थामा भेटिएका छन् । ३ वटा घाइते अवस्थामा उद्धार गरिएको र २३ वटा हिमपहिरोमा पुरिएर बेपत्ता रहेको पुष्टि भएको जनाइएको छ ।

उद्धारकार्य आजसम्म पनि जारी रहेको र बाँकी भेडाहरूलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।