
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाललाई आत्मनिर्भर, स्वावलम्वी एवं स्वाधीन अर्थतन्त्रको विकासमार्फत अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।
आज काठमाडौंमा नेपाल विश्व सम्बन्ध परिषद्को ७७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले नेपाल सबै मित्रराष्ट्रहरुसँग विकासका बहुआयामिक क्षेत्रहरुमा आपसी सहयोग एवं सहकार्यबाट अघि बढ्न चाहेको बताउनुभयो ।
उहाँले जलवायु संकटका कारण विश्व शान्ति र समृद्धिमा नयाँ चुनौतिहरु थपिएको बताउँदै जलवायु परिवर्तन, महामारीको प्रभाव, आर्थिक सुस्तताबाट त्राण पाउन अन्तर्राष्ट्रिय जगतसँग साझा रणनीति र सामुहिक प्रयासका साथ अघि बढ्न सक्नुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति यादवले नेपालको अन्तर्राष्ट्रिय छवि प्रवद्र्धनका साथै आर्थिक विकास एवं सामाजिक प्रगतिसहित समृद्धिको लागि अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक पर्ने सहयोग र सहायता प्राप्त गर्न विकास साझेदार राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यलाई थप बलियो र प्रभावकारी बनाउनुपर्नेमा जोेड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्