
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको बताउनुभयो । चिकित्सक र नर्सहरुको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्नेगरी सरकार अघि बढिरहेको बताउनुभयो ।
श्रम ऐनले तोकेको पारिश्रमिक कम्तिमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाइका साथ लागू गर्नेगरी सरकार अघि बढिरहेको मन्त्री पौडेलले बताउनुभयो । चिकित्कसहरुको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गर्नुभयो । चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानूनी प्रवन्धहरु अघि बढाइरहेको उहाँले बताउनुभयो ।
‘कम्तिमा श्रम ऐनले व्यवस्था गरेबमोजिम स्किल्ड म्यानपावरलाई दिनुपर्ने न्युनतम तलव दिनुपर्छ । त्यो एकदम कडाईका साथ लागू गर्नेगरी अघि बढिरहेका छौँ । श्रम ऐनले तोकेको रकमले पनि पुग्दैन । एउटा नर्सलाई २२ हजारले, एउटा डाक्टरलाई ४८ हजारले दैनिकी गुजार्न सम्भव हुँदैन । यसलाई गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसक्यौँ भने विदेश जाने क्रम रोकिन सक्छ ।’ स्वास्थ्यमन्त्री पौडेलले भन्नुभयो ।
मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वमै विश्वसनीय बनेको बताउनुभयो । चिकित्सकहरु उत्पादन हुने क्रम विगतको तुलनामा बढिरहेको दाबी गर्नुभयो । नेपालको स्वास्थ्य क्षेत्रमा विगतको तुलनामा थुप्रै सुधार भएको बताउनुभयो । आवश्यक चिकित्सक उत्पादन भएपनि नेपालभित्रै जनशक्ति सक्रिय नरहनु ठूलो चनौति भएको बताउनुभयो । चिकित्सकहरुलाई नेपालमै बस्ने स्थिति कसरी निर्माण गर्ने भन्ने बारेमा गम्भीर बन्न जरुरी रहेको बताउनुभयो । -न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्