२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


न्युनतम पारिश्रमीक नदिने संस्थाहरु कारबाहीको दायरामा आउँछन् : प्रधानमन्त्री ओली


1.872k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार टे«ड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताउनुभयो । उहाँले राम्रो काम गर्नेहरुलाई जसरी पनि विरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद् भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राम्रो काम गर्नेहरुलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरु गरेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि युवाहरुलाई लक्षित गरेर एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थितिको अन्त्य गर्न अनलाइन सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले यसपटक कम्तिमा ६० प्रतिशत नतिजा पु¥याउने उद्देश्यले व्यक्तिगत तवरबाट आफू लागिरहेको र एक लाख बढी विद्यार्थी सहभागी रहेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरुमा नर्सहरुले न्युनतम पारिश्रमीक नपाएको गुनासो सुनेको बताउनुभयो । उहाँले न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिनुभयो । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तलको पारीश्रमीक दिन नपाइने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्याशीलता र व्यवसायिकता भएको बताउनुभयो । रोजगारीका अवसर उद्यमशिलताबाट सिर्जना गर्न सकिने बताउनुभयो ।