२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


ग्यास उद्योगीहरुको आन्दोलन स्थगित


962
Shares

काठमाडौं । पाँच बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर काकीसहित नेपाल एल.पि. ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो ।

आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२ रुपैयाँ ७५ पैसाले मूल्य वृद्धि गर्ने सहमति भएको छ । तर उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ । ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ । यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने पनि सहमति भएको छ ।

निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरू सञ्चालक समिति तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्ने र नेपाल एल.पी ग्यास उद्योग संघले आजदेखि एल.पी. ग्यासको आपूर्ति सहज बनाउने सहमति भएको छ । विभिन्न माग राख्दै ग्यास उद्योगीहरू आन्दोलनमा उत्रिएका थिए ।