
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रले जनयुद्ध बेचेर खाइसकेको आरोप लगाउनुभएको छ ।
शहीद यदुकुमार गौतमको २६औँ स्मृति दिवसमा आज राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री गुरुङले माओवादी हिंसा भन्ने शब्दबाट किन भागेको भन्दै प्रश्नसमेत गर्नुभयो । जनयुद्ध त बेचेर खाइसक्यो माओवादी हिंसा भन्ने शब्दबाट पनि भागी रहेको उहाँको भनाइ थियो ।
सञ्चारमन्त्री गुरुङले माओवादी संकटमा भएर नाटक गरिरहेको आरोप पनि लगाउनुभयो । गाउँ रित्तो हुन जनयुद्धकालबाट शुरु भएको र सुरक्षाका लागि मानिस शहर पसेको उहाँको टिप्पणी थियो ।
“हामी आज गाउँ रित्तो भयो भन्छौँ, गाउँ रित्तो हुनुको प्रारम्भ जनयुद्धबाट शुरु भएको हो । सुरक्षाका लागि मानिस शहर पसे,” सञ्चारमन्त्री गुरुङले भन्नुभयो ।
एमालेका उपमहासचिव समेत रहेका गुरुङले माओवादीलाई रुकुम, रोल्पाबाट पराजित नगरे देशमा अस्थिरता कायमै रहने पनि बताउनुभयो । सामाजिक सञ्जालबाट धर्म, सांस्कृतिक सहअस्तित्व भड्काउन षड्यन्त्र भइरहेकाले त्यसलाई रोक्न आवश्यक रहेकामा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा २३औँ यदुस्मृृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार दिलभूषण पाठक पुरस्कृत भएका छन् ।
प्रतिक्रिया दिनुहोस्