
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ ।
बुधबार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग गरेको छलफलमा परामर्श गरेको छ ।
सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित र यथार्थपरक बजेट ल्याउने बताउनुभएको छ । यथार्थपरक बजेट आउँदा बीच बीचमा रकमान्तर र संशोधन गर्न नपर्ने र कार्यान्वयनमा समस्या नआउने अर्थमन्त्रीको भनाइ छ ।
अर्थमन्त्री पौडेलले बजेटको सिद्धान्त, मूल्य मान्यतालाई आत्मसाथ गरी बजेट बनाउने र विगतको अनुभवबाट शिक्षा लिएर अघि बढ्ने धारणा व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको भुमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिनुभएको छ । मन्त्रालयहरु र विभिन्न निकायबीचको समन्वयमा बजेट निर्माण हुने हुँदा बजेटप्रति सबैले अपनत्व लिने अर्थमन्त्रीको विश्वास छ ।
विपद्पछिको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले जीवन्त र प्रभावकारी बजेट बनाउने, नीति तथा कार्यक्रम र बजेटबीच तादाम्यता मिलाएर आगामी आर्थिक वर्षको बजेट बनाउने बताउनुभएको छ । उहाँले सम्यमता अप्नाएर बजेट बनाउन समेत अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
अर्थमन्त्री पौडेलले बजेटको सिलिङलाई ध्यानमा राखेर कार्यक्रमहरु प्रश्ताव गर्न पनि सुझाव दिनुभएको छ । छलफलमा भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजश्व सचिव दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा लगायत सहभागीता थियो ।
प्रतिक्रिया दिनुहोस्