२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


अमेरिकासँग जुनसुकै युद्धका लागि तयार रहेको चीनको घोषणा


18.304k
Shares

एजेन्सी । चीनले अमेरिकासँग कुनै पनि प्रकारको युद्ध लड्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै चिनियाँ सामानहरूमा थप कर लगाएपछि विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु व्यापार युद्धको नजिक पुगेका छन् ।

अमेरिकी करको बदलामा चीनले पनि अमेरिकी कृषि उत्पादनहरूमा १० देखि १५ प्रतिशतसम्म कर लगाएर तुरुन्तै प्रतिकार गरेको छ । यदि अमेरिकाले युद्ध चाहेको हो भने कर युद्ध, व्यापार युद्ध वा अन्य जुनसुकै प्रकारको युद्ध लड्न आफु तयार रहेको चीनको उद्घोष छ ।

अमेरिकास्थित चिनियाँ दूतावासले हिजो सामाजिक सञ्जालमा सरकारी विज्ञप्तिको एक लाइन पुनः पोस्ट गर्दै यस्तो चेतावनी दिएको हो । ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेयता चीनबाट यो अहिलेसम्मकै सबैभन्दा बलियो उद्घोष हो ।

बेइजिङमा चिनिया कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू वार्षिक राष्ट्रिय जन कँग्रेसको लागि भेला हुँदा यो प्रतिक्रिया आएको हो । बुधबार मात्रै चीनका प्रधानमन्त्री ली छियाङले आफ्नो देशको रक्षा खर्च ७ दशमलव २ प्रतिशतले बढाउने घोषणा गर्नुभएको थियो ।