
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाल भुतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सभापति देउवाले नेपाल भुतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउनुभयो । उहाँले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनु भयो ।
सभापति देउवाले गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भुतपूर्व सैनिकहरुले पुर्याउनुभएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
सभापति देउवाले भन्नुभयो, ‘नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ । लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ । सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली काँग्रेस पार्टी बलियो हुन्छ । नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।’
सभापति देउवाले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए नेपाली काँग्रेस पार्टी बलियो हुने जिकिर गर्नुभयो । उहाँले नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्