२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


कुलमान कार्यसम्पादन मूल्याङ्कनमा सहभागी नभएकाले शून्य अङ्क दिइयो : मन्त्री खड्का


884
Shares

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यसम्पादन मूल्याङ्कनमा सहभागि नभएको कारण शुन्य अङ्क दिइएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यदि विद्यार्थी जाँचमै सहभागि भएन भने उसले कति नम्बर प्राप्त गर्छ ? भन्दै प्रतिप्रश्न गर्नुभयो । उहाँले कार्यकारी निर्देशक घिसिङले तोकिएको समयभित्र कार्यसम्पादन नबुझाएर सरकारसँग भएको सम्झौताको बेवास्ता गरेको आरोप लगाउनुभयो ।

मन्त्री खड्काले कोहीपनि संविधानभन्दा माथि नहुने भन्दै सबैले कानूनको पालना गर्नुपर्ने उल्लेख गर्नुभयो । घिसिङले सरकारलाई नटेर्ने, नचिन्ने भएको कारण शून्य नम्बर दिइएको बताउनुभयो ।

मन्त्री खड्काले घिसिङले सरकारको अनुरोधहरुलाई नटेर्ने भएको कारण उहाँलाई पटक-पटक स्पष्टिकरण सोधिएको बताउनुभयो ।