
काठमाडौं । निकासी पैठारी (नियमन) विधेयकले व्यापार प्रक्रियालाई सरल र पारदर्शी बनाउने सांसदहरुले विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल बोल्दै सांसदहरुले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
उक्त विधेयक नेपाली वस्तु तथा सेवाको निर्यातलाई सहज बनाउनेगरी आउनुपर्नेमा उनीहरुको जोड छ । छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले निकासी पैठारी विधेयकले व्यापार प्रक्रियालाई सरल, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पुराना कानूनहर संशोधन गर्ने लक्ष्य राखेको बताउनुभयो । यद्धपी नेपालको निर्यातको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गर्नुभयो ।
सांसद कार्कीले नीतिगत समस्याको कारण नेपालमा निर्यातभन्दा वस्तुको आयात धेरै हुने गरेको बताउनुभयो । संरचनागत सुधार गर्न नसकेकै कारण चीनले दिएको शुन्य भन्सारको फाइदा उठाउन नसकेको उहाँको भनाइ छ ।
सरकारको अस्पष्ट नीति, निजी क्षेत्रको सिमित चासो, गुणस्तर सुधारमा चुनौति जस्ता समस्याको समाधान दिनेगरी विधेयक ल्याउनुपर्नेमा उहाँको जोड छ । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले निकासी पैठारी विधेयक ल्याउन धेरै ढिला भएको बताउनुभयो । उहाँले नेपालको विकास, समृद्धि र रोजगारीका लागि उक्त विधेयक महत्वपूर्ण सावित हुने बताउनुभयो । उहाँले विधेयकलाई नेपालको बजार र विश्ववजार तथा चाहनाको आधारमा ल्याइनुपर्ने बताउनुभयो । उहाँले कानून नबनेकै कारण नेपालले सधैं व्यापार घाटा सहनुपरेको बताउनुभयो ।
नेकपा (एमाले)का सांसद दामोदर पौडेल बैरागीले विधेयकले वस्तुहरुलाई निश्चित भन्सारबाट मात्र आयात निर्यात गर्न पाउने कुरालाई व्यवस्थित गरेको भन्दै स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले विधेयकले स्वदेशी श्रमसीप एवं कच्चा पदार्थमा आधारित वस्तु निर्यातलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कसुर र सजायका सन्दर्भमा पनि विधेयकमा महत्वपूर्ण व्यवस्था गरेको भन्दै सरकारलाई धन्यावाद दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले विदेशमा वस्तु र सेवा निकासी गर्ने सवालमा अहिलेसम्मको नेपालको अवस्थाबारे चासो राख्नुभयो । उहाँले अहिले नियमित रुपमा श्रमशक्ति निकासी भइरहेको भन्दै विधेयकले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले विधेयकलाई नेपालमा उत्पादित वस्तुको निकासीका र भन्सार व्यवस्थापन हुनेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्