२५ फाल्गुन २०८१, आइतबार | Sun Mar 9 2025


आज दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर हुने


455
Shares

काठमाडौं । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे शुरु हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०–०८१’ पेस गर्ने कार्यसूची छ ।

यस्तै बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरि राष्ट्रियसभाको बैठकमा आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७९–८० को छैटौँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।