३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


तानसेनमा साँस्कृतिक डबलीको शुभारम्भ


104
Shares

पाल्पा (भरत शर्मा) । तानसेनमा निर्माण सम्पन्न गरिएको साँस्कृतिक डबलीको शुभारम्भ गरिएको छ । पाल्पाको कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले डबली निर्माण गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण गरि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिना पछि सांस्कृतिक डबलीको शुभारम्भ गरिएको हो । सञ्चार माध्यमहरुमा डबली वेवारिस अस्थामा पुगेको समाचार आएपछि यसको मर्मत सम्भार र रंग रोगन गरेर शुभारम्भ गरिएको हो ।

ओपन थिएटरको अवधारणामा बनाइएको डबलीको निर्माण विभिन्न जातजाति समुदाय, कला र संस्कृति प्रदर्शन गर्नुका साथै पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले गरिएको हो । प्रदेश सरकारको ६ करोड ८२ लाख ५६ हजारको लागतमा डबली निर्माण गरिएको थियो । डबली सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकमा वृद्धि हुने नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउनुभयो ।

५ सय दर्शक क्षमता रहेको यस डबली शुभारम्भका अवसरमा जिल्लाको प्रसिद्ध सांस्कृतिक नृत्यहरु समेत प्रदर्शन गरियो । वर्षौदेखि अलपत्र अवस्थामा रहेको डबली शुभारम्भ हुँदैमा गौरवको विषय नरहेको हुँदा यसलाई नियमित सञ्चालन गर्न सके मात्र साँस्कृतिक सम्पदाको संरक्षण हुनुका साथै सरकारको करौडौको लगानी सदुपयोग हुनेछ ।

कला र संस्कृतिको धनी मानिएको पाल्पाको थप पहिचान कायम राख्न डबलीको उल्लेखनीय भूमिका रहने स्थानीयको अपेक्षा छ । त्यसैले पनि यसलाई निरन्तर प्रयोगमा ल्याउन सकेमात्र डबली निर्माणले सार्थकता पाउनेछ ।