
एजेन्सी । टर्कीले आफ्नो घरेलु तेल उत्पादनमा उल्लेखनीय वृद्धि गरेको छ । मार्चसम्ममा दैनिक उत्पादन १ लाख ३२ हजार ब्यारेल पुगेको टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री अल्परस्लान बायरक्तरले शनिबार अर्ध–आधिकारिक अनाडोलु एजेन्सीलाई बताउनुभयो ।
टर्कीका मन्त्रीले १५३ नयाँ तेल कुवाहरू खन्ने योजना घोषणा गर्नुभयो । मुख्यतया सिरनाक प्रान्तको गाबर क्षेत्र, भान प्रान्त र दियारबाकिर प्रान्त, टर्की–सिरिया सीमा नजिकका क्षेत्रहरूमा कुवा खनिने भएको छ ।
२०२१ मा पत्ता लागेको र टर्कीको इतिहासमा सबैभन्दा ठूलो तेल खोजको रूपमा मान्यता प्राप्त गाबर तेल क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याएको छ । क्षेत्रीय उत्पादनले अब देशको अर्थतन्त्रमा वार्षिक २ अर्ब अमेरिकी डलर थप्छ ।
टर्किएको प्राकृतिक ग्यास उत्पादन बढाउने कामको बारेमा विस्तृत रूपमा बताउँदै मन्त्री बायरक्तरले कालो सागरमा रहेको साकार्या ग्यास क्षेत्रबाट दैनिक ७० लाख घनमिटर प्राकृतिक ग्यास उत्पादन हुने र लगभग ३० लाख घरपरिवारको आवश्यकता पूरा गर्न पर्याप्त रहेको बताउनुभयो ।
मन्त्री बायरक्तरका अनुसार टर्किएले २०२५ लगानी कार्यक्रम अन्तर्गत ऊर्जा क्षेत्रमा २५९ अर्ब टर्किस लिरा (लगभग ७.११ अर्ब डलर) लगानी गर्ने योजना बनाएको छ ।
उक्त कार्यक्रमका लागि १४०.७ अर्ब लिरा (लगभग ३.८७ अर्ब डलर) तेल र प्राकृतिक ग्यास अन्वेषण र उत्पादनमा छुट्याइनेछ । ४५.८ अर्ब लिरा (लगभग १.२६ अर्ब डलर) प्राकृतिक ग्यास भण्डारण र प्रसारण पूर्वाधार सुधार गर्न प्रयोग गरिनेछ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्