२५ फाल्गुन २०८१, आइतबार | Sun Mar 9 2025


राष्ट्रियसभाको बैठकमा आज


715
Shares

काठमाडौं । आइतबार दिउँसो सवा १ बजेदेखि शुरु भएको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभामा पेश गरिएको छ ।

बैठकमा बोल्दै राष्ट्रिय सभाका सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताउनुभयो । शिक्षकहरुलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उहाँले उनीहरुका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताउनुभयो ।

यस्तै सांसद गोमादेवी तिमिल्सनाले दातृ देशहरुले बनाइदिएका उद्योगहरु धमाधम बन्द हुन थालेको गुनासो गर्नुभयो । सरकारले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग बेवारिसे अवस्थामा छोडेको भन्दै उहाँले उद्योग सञ्चालन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुले पारिश्रमिकसमेत पाउन नसकेको बताउनुभयो ।

यसैगरि राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश विनाश गरेको आरोप लगाउनुभएको छ । यस्तै माओवादी सांसद जगप्रसाद शर्माले राजावादीहरुले सडकमा नाटक मञ्चन गरिरहेको आरोप लगाउनुभयो । प्रतिगामी शक्तिहरु अहिले राजा फर्काउने काममा लागेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राजावादीहरुका कारण लोकतन्त्रमाथि कालो बादल मडारिन थालेको भन्दै मुलुकमा राजनीतिक अस्थिरता पैदा भएको टिप्पणी गर्नुभयो ।