२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गणतन्त्र रक्षाका लागि एकतावद्ध हुन एकीकृत समाजवादीको आह्वान


0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरुको विरुद्धमा एकतावद्ध हुन आह्वान गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो आह्वान गरेको हो ।

बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनःउत्थानवादी शक्तिहरु सल्बलाइरहेको भन्दै गणतन्त्रका विरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरुलाई एक हुन आह्वान गर्ने निर्णय भएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी गराउनुभयो ।

प्रवक्ता ज्वालाले गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र भएको निष्कर्ष पार्टीको रहेको बताउनुभयो । प्रतिगमनकारी, यथास्थितिवादी शक्तिहरुका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बताउनुभयो ।

बैठकले रोजगारी र सुशासनको निम्ति आन्दोलन अघि बढाउने र चैत्र १ गते वृहत पत्रकार सम्मेलनमार्फत आन्दोलनको रुपरेखा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।