२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


महिला सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध छ : मन्त्री सुडी


65
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा उनीहरुको सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

महिलाको स्थितिसम्बन्धी राष्ट्रसङ्घीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुग्नुभएका मन्त्री सुडीले संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा मन्त्रिस्तरीय गोलमेच बैठकमा उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

महिलालाई राज्यका सबै तहमा अवसर दिने, उनीहरूविरुद्धका हिंसा उन्मूलन गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री सुडीले त्यसका लागि कानुनी तथा नीतिगत संरचना बलियो बनाइएको बताउनुभयो ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार मन्त्री सुडीले नेपाल सरकार राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतिबद्धताको कार्यान्वयनका लागि सधैँ तत्पर रहेको, महिला समानता र विकास सुनिश्चित गर्नका साथै राजनीतिक अधिकार, शासन व्यवस्था, शिक्षा, रोजगारी, स्वास्थ्यलगायत क्षेत्रमा उनीहरूलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।