
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा बजारमा सरकारले गरेको अनुगमनले उपभोक्ता अधिकार संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा उपभोक्ता अदालत उद्घाटन समारोहमा बोल्दै मन्त्री भण्डारीले सरकारले देशव्यापी रुपमा सेवा बजारमा गरेको हस्तक्षेपकारी अनुगमनका कारण सेवा बजारलाई अनुशासित र मर्यादित बनाएको बताउनुभयो । उहाँले उपभोक्ता अदालतले उपभोक्ता अधिकारलाई संस्थागत गर्नुपर्ने बताउनुभयो ।
मन्त्री भण्डारीले सामाजिक र कानून विपरित वस्तु तथा सेवामा भइरहेको समस्याको निरुपणका लागि तीन तहका सरकारसँग समन्वय गरेर अनुगमन कार्य भइरहेको बताउनुभयो । चाडपर्वका समयमा सरकारले गर्ने बजार अनुगमनले उपभोक्ता र सेवा विक्रेतालाई जागरुक बनाएको उहाँको भनाइ छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले सीमानाकामा ल्यावको स्थापना गर्नुपर्ने बताउनुभयो । उहाँले देश बाहिरबाट आउने विभिन्न उपभोग्य वस्तुहरु गुणस्तरहिन र मिति सकिएको हुने गरेको बताउनुभयो । उहाँले देशबाहिरबाट आउने तरकारी तथा फलपूmलमा अध्याधिक विषादी प्रयोग हुने गरेको बताउनुभयो । सिमानाकामा ल्याव नहुँदा कहाँबाट कस्तो गुणस्तरको वस्तु आयात भयो भन्ने थाहा नहुने भन्दै उपभोक्ताको स्वास्थ्यमा असर परिरहेको उहाँको भनाइ छ ।
सभापति खानले संवैधानिक हक अन्तर्गत उपभोक्ता अदालत स्थापना भएकाले तीनै तहका सरकारले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्