
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली कांग्रेसको नभएको स्पष्ट पारेको छ ।
केही दिनअघि प्रतिनिधि सभाको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर कांग्रेसको मंगलबार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले संसदमा यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उहाँको नितान्त भएको र पार्टीको आधिकारिक धारणा नभएको बताउनुभयो । पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पंक्ति र जनमानस दुविधामा नपर्न आग्रह गर्नुभयो । त्यस किसिमको धारणा नराख्न निर्देशन दिइएको पनि बताउनुभयो ।
बैठकमा राजावादीहरुको प्रदर्शनको बारेमा पनि छलफल भएको प्रवक्ता महतले बताउनुभयो । सरकार परिवर्तनको कुरा नभएको र सर्वदलीय सरकारको चर्चा नभएको पनि जिकिर गर्नुभयो ।
सरकारले अझ प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभयो । जनअपेक्षा धेरै रहेको तर सरकारको काम गर्ने क्षमता सिमित रहेको र क्षमताले भ्याएसम्म काम गर्नुपर्ने बताउनुभयो । सरकारमा बस्नेहरुले कुनैपनि नागरिकले प्रश्न गर्ने ठाउँ दिनु नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्