६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025


बरामद २५ करोड अवैध विदेशी मुद्राबारे उच्चस्तरीय छानविन समिति गठन गर्न माग


559
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ । बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

सांसद सापकोटाले मुलुकमा आर्थिक अपराध मौलाउँदै गएकोप्रति समेत चिन्ता व्यक्त गर्नुभयो । उहाँले यस्तो अपराध उच्च तहको संलग्नताबिना सम्भव नहुने भन्दै आवश्यक अनुसन्धान गर्न माग गर्नुभयो । उहाँले घटनाको छानविन गरि संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सापकोटाले भन्नुभयो, ‘यस्ता प्रकृतिका घटनामा भरिया र ड्राइभरमात्र पक्राउ पर्दछन् । केही समय ठूलाठूला समाचार बन्दछन् र निश्चित समयपछि सामान्य रुपमा जाने गरेको छ । हाम्रो दलको तर्फबाट, यो घटनाको लागि छानविन गर्न एउटा विशेष छानविन समिति गठन गरियोस् र यो घटनामा संलग्न उच्च तहका नेता एवं कर्मचारी भएपनि कानूनी दायरामा ल्याउन माग गर्दछु ।’

काठमाडौं प्रहरीले करिव २५ करोड नगदसहित दुई जनालाई पक्राउ गरेको थियो । अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरिएको छ ।