
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताउनुभएको छ ।
बुधबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव बस्नेतले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताउनुभएको हो ।
उपमहासचिव बस्नेतले संविधानमा व्यवस्था भएको जनतामा निहित सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने जिकिर गर्नुभयो । नेपालमा लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने निचोडका साथ आफ्नो पार्टीले २०४८ सालमा निर्णायक आन्दोलन घोषणा गरेको र दश वर्षे जनयुद्ध त्यसैका लागि भएको दाबी गर्नुभयो ।
२०५९ सालको राजा ज्ञानेन्द्रको कदमपछि तत्कालिन संसदमा भएका दलहरु लोकतन्त्रका लागि राजतन्त्र वाधक भएको निर्णयमा पुगेको उपमहासचिव बस्नेतको भनाइ छ । उहाँले सात दल र माओवादीसहितको सहकार्यमा गणतन्त्र स्थापना भएकाले अब पुनः राजतन्त्र स्थापना हुनुपर्ने भन्ने विषयमा भएका बहस निरर्थक रहेको आशय व्यक्त गर्नुभयो ।
उपमहासचिव बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको भन्दै आफ्नै कारणले सरकार ढल्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले सरकार परिवर्तन गर्ने खेलमा आफ्नो पार्टी नलागेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्