६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025


‘कराते महासंघका अध्यक्ष लामाका कारण सन्यास लिन बाध्य भएँ’


0
Shares

काठमाडौं । नेपालका लागि १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता करातेका विप्लवलाल श्रेष्ठले खेलाडी जीवनबाट सन्यास लिएका छन् ।

आफ्नै खेलको निकाय नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाका कारण सन्यास लिन बाध्य भएको आरोप लगाउँदै विप्लवलालले खेलाडी जीवनबाट बिदा लिएका हुन् । उनी नेपालमा नै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता र चीनमा भएको १९ औ एशियन गेम्समा तीन खेल जितेका खेलाडी हुन् ।

घरेलु प्रतियोगितामा सदैव स्वर्ण चुम्दा आएका विप्लवलालले बुधबार पत्रकार सम्मेलन गर्दै सन्यास घोषणा गरेका हुन् । मन नलाग्दानलाग्दै पनि महासंघका अध्यक्ष लामाले आफूविरुद्ध गर्दै आएको निरुत्साहित गर्ने प्रवत्ति कारण खेलाडी जीवनबाट सन्यास लिएको उनको आरोप छ ।

केही समयअगाडि मात्र भुटानमा आठौं दक्षिण एशियाली कराते च्याम्पियनसिप खेलेको र त्यहाँ स्वर्ण पदक जितेको उनले स्मरण गर्दै दशौं राष्ट्रिय खेलकुदको तयारीमा रहेको पनि बताए । तर, अब आफूमाथि महासंघका अध्यक्षले गर्दै आएको निरुत्साहनका कारण खेल करियर अगाडि बढाउन नसक्ने स्थितिमा पुगेको उनको भनाइ छ ।

सानैदेखि खेल्दै आएको खेल छोड्नु पर्दा धेरै पीडा भैरहेको भन्दै उनी भावुक पनि भए । एसियन गेम्सपछि नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ० ले आफूलाई पिपुल्स च्वाइस अवार्डमा परेको हो र त्यसबेला अध्यक्षले आफू त्यसमा योग्य नभएको भन्दै अध्यक्षले निरुत्साहित गरेको विप्लवलालको भनाइ छ ।

पारिवारिक कारणले केही समय ब्रेक लिँदा पनि अध्यक्ष लामाले आफूलाई नराम्रो गरेको बताएका छन् । ५६औं राष्ट्रिय खेलकुदमा आफूले स्वर्ण जितेको र त्यहाँबाट भुटानमा हुने दक्षिण एसियाली च्याम्पियनसिपका लागि छनोट हुने प्रावधान रहेको उनले स्मरण गरे । तर, आफूसँग हारेको खेलाडीलाई भुटानमा हुने च्याम्पियनसिपमा लागि लगिएको उनको आरोप छ ।

यद्यपि, आफू भुटान गएर पनि अस्वस्थ रहँदा पनि व्यक्तिगत विधामा स्वर्ण जितेको उनले स्मरण गरे । तर त्यतिबेला अध्यक्ष लामाले जिते पनि राम्रो नखेलेको भन्दै होच्याएको आरोप लगाएका छन् ।

लगत्तै थाइल्यान्डमा भएको इन्डोर एशियन गेम्समा पनि आफूलाई टोलीभन्दा बाहिर राखेको उनले बताएका छन् । विप्लभलाल बुढा भएको र उसको स्थानमा अर्को खेलाडी राख्न महासंघका अध्यक्ष लामाले राष्ट्रिय टिम तयारी समितिका सहसंयोजकलाई भनेको उल्लेख गरेका छन् ।

उनी पछिल्लो समय अस्ट्रेलियामा बसोवास गर्दै आएका थिए । तर, उनी दशौं राष्ट्रिय खेलकुदको तयारीका लागि नेपाल फर्किएका हुन् । यद्यपि, विप्लवलालले यो आयोजना हुन दुई महिना बाँकी रहेको अवस्थामा खेलाडी जीवनबाट संन्यास लिएका छन् । घरेलु प्रतियोगितामा सदैव उत्कृष्ट रहँदै आएका विप्लवलालले अब कहिल्यै कराते खेलमा नफर्कन गरी छाड्न बाध्य भएको बताएका छन् ।