७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदै


481
Shares

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदै छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एक साथ बिहान ८ बजेदेखि एसइई आरम्भ हुन लागेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षाको तालिका अनुसार पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुँदैछन् । दुई लाख ५७ हजार ७३० छात्रा छन् भने दुई लाख ५६ हजार ३११ छात्र छन् । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३० जनाले पनि परीक्षा दिँदैछन् । प्राविधिकतर्फका १६ हजार ९४७ विद्यार्थी छन् ।

गत वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए । गत वर्षभन्दा यस वर्ष ४९ हजार २८६ जना परीक्षार्थीको संख्या बढी हो ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा संचालन गर्न केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, सहयोगी कर्मचारी र सुरक्षाकर्मी गरी ७७ हजार ८१७ जना जनशक्ति खटाइएको छ ।

एसईई परीक्षा आज चैत ७ गतेबाट शुरु भएर चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।