७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री लेखक


468
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपालमा भूकम्पबबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तीव्र गतिले अघि बढेको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जाखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लेखकले डोटी, बझाङ र जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको क्षतिको डिडिए भइसकेको स्थायी आवास निर्माण कार्य अघि बढिसकेको र हुन बाँकी रहेकाहरुको डिडिएको काम अघि बढाइएको बताउनुभयो । उहाँले जाजरकोटमा पुनः स्थापना, पुनः निर्माणको काम अगाडि बढाउने गरेर काम शुरु भइसकेको बताउनुभयो । केन्द्र सरकारबाट अनुदान जाने काम प्रारम्भ भएको पनि बताउनुभयो ।

गृहमन्त्री लेखकले गत आश्विन महिनामा अविरल वर्षाका कारणले बागमती, कोशी प्रदेशलगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको र त्यसका लागि तत्काल डिडिएको काम अघि बढाउने र डिडिएकासँगै निजी आवासहरु स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी र अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी बनाउने गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘पश्चिम नेपालमा भूकम्बबाट उत्पन्न पीडा, पीडितहरुको डिडिए गर्न बाँकी रहेको जति काम पनि द्रुत गतिमा अघि बढेको छ । जुन ठाउँमा डिडिए भइसकेको छ, त्यो ठाउँमा स्थायी आवास निर्माणको काम पनि अघि बढेको छ । जाजरकोटमै पनि पुनः स्थापन, पुनः निर्माणको काम अगाडि बढाउने गरेर काम शुरु भइसकेको छ । यहाँबाट अनुदान जाने काम प्रारम्भ भएको छ । डेढ, दुई वर्षदेखि रोकिएको काम अघि बढेको छ ।’

गृहमन्त्री लेखकले आगामी दिनमा विपद्बाट हुनसक्ने सबै खालका जोखिमका लागि तयार रहने गरी सरकार अघि बढिरहेको बताउनुभयो । —न्युज एजेन्सी नेपाल