
काठमाडौं । प्रतिनिधि सभामा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भएको छ । प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीलाई दश जना सांसदहरुले २१ वटा प्रश्न गरेका थिए । अघिल्लो पटकको प्रश्नोत्तर कार्यक्रममा प्रश्नकर्ता सांसदहरुसंग झोंक्किनु भएका प्रधानमन्त्री ओलीले यस पटक भने सबै प्रश्नको लिखित जवाफ दिनुभयो । तर जवाफ दिने क्रममा उभिन मुश्किल भएपछि प्रधानमन्त्री ओलीलाई बसेरै जवाफ दिन रोष्ट्रममा कुर्सीको ब्यवस्था गरिएको थियो ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष सवाल–जवाफ कार्यक्रम अन्तर्गत १० जना सांसदले २१ वटा प्रश्न प्रधानमन्त्री ओलीलाई सोधेका थिए । प्रश्नोत्तर कार्यक्रमको सुरुमा सासंद भगवती चाधैरीले उच्च शिक्षा र रोजगारीका लागि युवाहरु विदेशीदा देश युवाबिहिन बन्दै गएको भन्दै त्यसलाई रोक्न सरकारको योजना के छ भनी प्रश्न गर्नुभयो । चौधरीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले यसलाई पुरै नकारात्मक रुपमा मात्र लिन नहुने भन्दै युवा पलायन रोक्न सरकार गम्भीर भएको जवाफ दिनुभयो ।
यसै गरि सासंद बासुदेव घिमिरेले लुम्बिनी प्रदेशमा निमार्ण गर्ने भनिएको बर्थिङ अस्पताल निर्माण नहुनुको कारण र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल दीगो रुपमा सञ्चालनका लागि सरकारको योजना के छ भनी प्रश्न गर्नुभयो । जवाफमा प्रधानमन्त्री ओलीले बर्थिङ अस्पतालको सम्भाव्यता अध्ययन भइरहेको र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रुपमा चलाउन यात्रु सेवा शुल्कमा छुट, ग्राउन्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ एन्ड नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत एवम् प्रोत्साहनका कार्यक्रमहरू ल्याएको बताउनुभयो ।
यस्तै सासंद विन्दवासिनी कंसाकारले जलन पिडितहरुको उपचार, पुनस्थापना तथा अधिकार सम्बन्धमा संसदमा ८ महिना अघि दर्ता भएको निजी विधेययक अघि बढाउन सरकारको चासो छ की छैन भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले संसदमा दर्ता भएको निजी विधेयकमा रहेका प्रावधानहरुमा सदन वा सम्बन्धित समितिमा हुने छलफलका क्रममा सरकारले आफ्नो धारणा राख्ने जवाफ दिनुभयो ।
अर्का सासंद बुद्धीमान तामाङले ईपीजी प्रतिवेदन भारतका प्रधानमन्त्रीले नबुझ्दा नेपालका प्रधानमन्त्रीले पनि बुझ्न नहुने हो ? भनी राखेको जिज्ञासामा ओलीले नेपालले प्रतिवेदन नबुझने भनेको छैन भन्दै भारतसंग पनि कुटनीतिक पहल भइरहेको बताउनुभयो ।
यसैगरि सांसद विमला सुवेदीले संक्रमणकालीन न्याय आयोगहरु गठन हुन किन ढीलाई भइरेहको भन्दै शान्ती प्रक्रियाको बाँकी काम टुङ्गोमा पु¥याउन सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्नुभयो । जवाफमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन आयोगहरुमा पदाधीकारी नियुक्त गर्न विपक्षी दलका नेता पुष्पकमल दाहालसँग सम्पर्क गर्न खोजेको तर उहाँ सम्पर्कमै नआएको दाबी गर्नुभयो ।
यस्तै सासंद सुवेदीले नै फोहोर मैला व्यवस्थापनसँग सम्बन्धीत अर्को प्रश्न गर्दा प्रधानमन्त्री ओलीले फोहोरमैला व्यवस्थापनका लागि अल्पकालीन र दिर्घकालीन योजनाहरु तयार भएको दाबी जवाफ दिनुभयो ।
यतै सासंद मनिष झाले सरकारी नियुक्तिको विषयमा गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकारले हाम्रो हैन राम्रो मान्छे नियुक्त गर्ने भन्दै आफ्ना मान्छे नियुक्त गर्छ भन्ने आरोप सही होइन भन्नुभयो ।
प्रश्नोत्तर कार्यक्रममा सासंदहरुले आ–आफ्ना गृहजील्लाको पूर्वाधार विकासको सन्दर्भमा समेत प्रश्न उठाएका थिए । गत असारमा प्रधानमन्त्री बने यता ओलीको यो चौथो सवालजवाफ हो । तर यस पटक पनि प्रधानमन्त्रीबाट सांसदका प्रश्न र जिज्ञासामा ठोस जवाफ भन्दा पनि औपचारिकता निभाउने काम मात्रै भयो ।
प्रतिक्रिया दिनुहोस्