१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


अमेरिकी शिक्षा विभाग बन्द गर्न ट्रम्पको आदेश


14.04k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी शिक्षा विभाग खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ । आफ्नो चुनावी वाचा अनुसार ट्रम्पले शिक्षा विभाग खारेज गर्ने प्रक्रिया थाल्नुभएको हो ।

ट्रम्पको यो आदेशले देशका लाखौं सार्वजनिक विद्यालयहरू, तिनमा अध्ययनरत विद्यार्थी र ती विद्यार्थीहरुले लिएका ऋणको भविष्य के हुन्छ भन्ने अन्योल बढाएको छ । अमेरिकाको आधुनिक इतिहासमा कुनै पनि राष्ट्रपतिले क्याबिनेट–स्तरीय एजेन्सी बन्द गर्ने प्रयास गरेको यो पहिलो पटक हो ।

विभागलाई पूर्णरुपले बन्द गर्न अमेरिकी कांग्रेसले ऐन बनाउन सहयोग गर्नु पर्ने हुन्छ । ट्रम्प प्रशासनले कंग्रेसबाट ऐन बनाउन पर्याप्त समर्थन जुटाउन नसक्ने बताइएको छ । यद्यपी ट्रम्पले बिहीबार हस्ताक्षर गरेको आदेशले शिक्षामन्त्री लिन्डा म्याकमोहनलाई शिक्षा विभाग बन्द गर्न र राज्यहरूलाई शिक्षा अधिकार फिर्ता गर्न सबै आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले विभाग बन्द गरिएपनि विद्यार्थी ऋण र जोखिममा रहेका विद्यार्थीहरूका लागि अनुदान व्यवस्थापन जस्ता महत्वपूर्ण कार्यहरू छुट्टै एजेन्सीको जिम्मा लगाइने जानकारी दिनुभयो ।