११ चैत्र २०८१, सोमबार | Mon Mar 24 2025


टर्कीमा सरकारविरुद्धको प्रदर्शन चर्कियो


897
Shares

एजेन्सी । टर्कीमा सरकारविरुद्ध भइरहेको प्रदर्शन चर्किएको छ । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुको गिरफ्तारीपछि टर्कीमा विगत केही दिनदेखि जारी प्रदर्शन झन झन चर्कंदै गएको छ ।

टर्कीको विभिन्न शहरमा हजारौँको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गर्नुका साथै ठाउँठाउँमा आगजनी र तोडफोड समेत गरेका छन् । स्थिति नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दर्जनौ घाइते भएका छन् । सोही क्रममा प्रहरीले सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यसैबीच टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बढ्दो प्रदर्शनको निन्दा गर्दै तोडफोड र सडकमा देखिएको आतंकविरुद्ध कुनै सम्झौता नगर्ने प्रष्ट पार्दै सार्वजनिक अव्यवस्था स्वीकार नगर्ने उद्घोष गर्नुभएको छ ।

सन् २०२८ को राष्ट्रपतीय चुनावका लागि उम्मेदवार घोषणा हुनुभन्दा केही दिनअघि गत बुधबार इस्तानबुलका मेयर इकराम इमामोग्लुलाई भ्रष्टाचार र चरमपन्थी समूहलाई सहयोग गरेको आरोपमा पक्राउ गरेपछि विरोध चर्किएको हो ।

रिपल्बिकन पिपुल्स पार्टी सीएचपीको राष्ट्रपति मनोनयनको चुनावका लागि एक उम्मेदवारको रुपमा रहेका इस्नानबुलका मेयर इमामोग्लुलाई पक्राउ गरिएको हो । इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी) का नेता इकराम इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको मुख्य प्रतिद्वन्द्वी मानिन्छ ।

सीएचपी एक धर्मनिरपेक्ष राजनीतिक पार्टी हो र इमामोग्लुलाई राष्ट्रपति एर्दोगानको सबैभन्दा बलियो राजनीतिक प्रतिद्वन्द्वीको रूपमा हेरिन्छ । सोही कारण उनलाई बिना आधारको आरोप लगाइ राष्टपति एर्दोगानले गिरफ्तार गरेको प्रदर्शनकारीको आरोप छ ।