११ चैत्र २०८१, सोमबार | Tue Mar 25 2025


जलवायु परिवर्तनका जोखिम ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्छ : उर्जामन्त्री खड्का


260
Shares

काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

आइतवार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उर्जामन्त्री खड्काले हिमनदीहरु क्रमशः साना हुँदै गइरहेको र जलावयु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताउनुभयो । उहाँले अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौति आउनसक्ने बताउनुभयो ।

मन्त्री खड्काले जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरु पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने क्रम पनि जारी रहेको बताउनुभयो । उहाँले सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको बताउनुभयो ।

मन्त्री खड्काले पछिल्ला वर्षहरुमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकिएको बताउनुभयो । जलवायु परिवर्तनका जोखिमहरु ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘वैज्ञानिक अध्ययनहरुले स्पष्ट देखाएको छ की नेपालको हिमताल फुट्ने र हिमनदीहरु पग्लिने दर बढ्दो छ । यसले निम्त्याउने सम्भावित जोखिमहरु उच्च छन् । हाम्रा हिमनदीहरु क्रमशः साना हुँदै गइरहेका छन् । यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको छ । हामीले भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गरी यदी अहिले नै उचित तयारी शुरु गरेनौँ भने भविष्यमा नेपालको जलश्रोतमा गम्भीर चुनौति आउनसक्छ ।’

मन्त्री खड्काले सरकार हिमनदीहरुको विस्तृत अध्ययन, जलक्रमको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिवद्धता जनाउनु भयो । हिमनदीहरुको संरक्षण र जलवायु परिवर्तनहरुको असर न्यूनीकरण सहकार्य गर्न सरकार अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको बताउनुभयो ।- न्युज एजेन्सी नेपाल