
काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरुलाई एकीकृत स्वरुपमा ल्याउने काम भइरहेको बताउनुभएको छ ।
आइतवार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले विमकहरुले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनहरु एकीकृत रुपमा ल्याइदिन गरेको मागको सम्बोधनका लागि प्राधिकरणले काम गरिरहेको बताउनुभएको हो ।
अध्यक्ष ओझाले आफू प्राधिकरणमा आएको केही दिनमै निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम शुरु गरेको बताउनुभयो । नियमावलीमा परेका विषयहरुलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरावलकोन भएको ठाउँमा समयानुकुल बनाउने बारेमा काम शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले दुई महिनाभित्र काम सकिसक्ने र विमकलाई सहजता प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने उहाँले बताउनुभयो । विमकको वित्तीय संस्था बलियो नभए विमितको हित संरक्षण हुन नसक्ने भन्दै विमकको वित्तीय स्वास्थ्य बलियो बनाउनका लागि प्राधिकरणले गर्नुपर्ने सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
अध्यक्ष ओझाले भन्नुभयो, ‘बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्छ । विमितको हितको कुरा हाम्रो ऐनले प्रस्तावनामा नै गरेको छ । त्यो हाम्रो पहिलो प्राथमिकतामा पर्दछ । विमकको वित्तीय संस्था बलियो भएन भने विमितको हित संरक्षण हुन सक्दैन ।’
अध्यक्ष ओझाले समग्र बीमा उद्योगको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्