
सर्लाही । मधेश प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकाभित्र सञ्चालनमा रहेका १९ अवैध स्वास्थ्य संस्था तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
निजी स्वास्थ्य संस्थाको अनुगमन गर्न शनिबार साँझ लालबन्दी पुग्नुभएका मुख्यमन्त्री सिंहले रातभर लालबन्दी र नवलपुरका २३ स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति पत्र नभएका र मापदण्ड विपरित सञ्चालन भइरहेका १९ स्वास्थ्य संस्थालाई बन्द गर्न निर्देशन दिइएको छ ।
जाँच गरिएका २३ मध्ये दुईवटा अस्पतालसँग मात्र आवश्यक कागजात दुरुस्त रहेको तथा दुई अस्पताल नवीकरण गर्नुपर्ने अवस्थामा रहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।
यसअघि पनि मुख्यमन्त्री सिंहले लालबन्दी नगरपालिकाको नवलपुर क्षेत्रमा अवैध स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो । तर, आफूले बन्द गर्न निर्देशन दिएको केही अस्पताल पुनः सञ्चालनमा आएको गुनासो आएपछि यसपटक प्रहरी परिचालन गरी निगरानी गर्न निर्देशन दिएको सिंहले बताउनुभयो ।
शनिबार लालबन्दी र बर्दिवासका स्वास्थ्य संस्थाको अनुगमन गर्नुअघि गत शुक्रबारसम्म प्रदेशभर ७५ अवैध स्वास्थ्य संस्था बन्द गराइएको र दोषीहरूमाथि कडा कारवाही गरिने मुख्यमन्त्री सिंहले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्