
काठमाडौं । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्यप्रगति एवं आगामी आर्थिक वर्षको कार्यक्रम, योजना र रणनीति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ८ बजे बस्ने भएको छ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिका सम्बन्धमा सम्बन्धित विज्ञ, सरोकारवाला तथा अन्य सम्बन्धित पक्षहरूसँग अन्तरक्रिया गर्ने कार्यसूची छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे १० बजे बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्