
काठमाडौं । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ तारिखलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको छ । नेपालमा पनि आज क्षयरोग नियन्त्रणका लागि विविध चेतनामुलक कार्यक्रम गरेर यो दिवस मनाइदैछ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष ६८ हजार पाँच सयको संख्यामा क्षयरोगी थपिन्छन् । त्यसमध्ये झण्डै ३० हजार उपचारमा आउँदैनन् । यति ठुलो संख्यामा क्षयरोगी उपचारमा नआउनुलाई विशेषज्ञहरूले डरलाग्दो अवस्था भनेका छन् ।
तथ्यांकअनुसार सबैभन्दा धेरै क्षयरोगी काठमाडौंमै छन् । हाल नेपालभर क्षयरोग उपचार गर्ने स्वास्थ्य संस्थाहरूको संख्या ६ हजार २४१ रहेको छ । त्यसमध्ये आठ सयवटा स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार तथा औषधि वितरण हुन्छन् । हाल यो रोगको उपचारका लागि सरकारले १४९ वटा स्थानीय तहबाट पनि औषधि वितरण र उपचार सेवा दिइरहेको छ ।
सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोगमुक्त गराउने नेपालको अभियान छ । तर पछिल्ला १० वर्षयता क्षयरोग न्यूनीकरणमा नेपालले गरेको काम सन्तोषजनक छैन । सन् २०१५ देखि २०२५ सम्मको तथ्यांकअनुसार केन्द्रले क्षयरोगका बिरामी घटाउन गरेको प्रयास निकै कमजोर देखिएको छ । १० वर्षमा नेपालले १५ प्रतिशत मात्रै क्षयरोग नियन्त्रण गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्