
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्षयरोगको न्यूनीकरण गर्न सरकारले प्राथमिकताहरु बदलेर प्रभावकारी ढंगले अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सरकारले यसको न्यूनीकरणका लागि आफ्ना अहिलेसम्मका प्राथमिकताहरु बदलेर नयाँ र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने जरुरी देखिएको बताउनुभयो । उहाँले यसको निदानका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्वन गर्न जरुरी रहेको बताउनुभयो ।
खर्च गर्ने तर शतप्रतिशत उपलब्धि हाँसिल नभइरहेको अवस्था रहेको भन्दै शतप्रतिशत उपलब्धि हाँसिल गर्नेगरी हामीले नीतिगत व्यवस्था गर्न आवश्यक रहेको मन्त्री पौडेलले बताउनुभयो । उहाँले क्षयरोग केन्द्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल सञ्चालन गर्न जरुरी रहेको र त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिने प्रतिवद्धता जनाउनु भयो ।
मन्त्री पौडेलले भन्नुभयो, ‘टिबी क्षेत्रमा पनि सम्पूर्ण सेवाहरु उपलब्ध हुने अस्पताल हामीले सञ्चलनमा ल्याउनुपर्नेछ । आगामी आर्थिक वर्षमा यसलाई आवश्यक पर्ने बजेट विनियोजन गरेर यसलाई सञ्चालनमा ल्याउनेछौँ । टिबी फ्रि पालिका घोषणा गर्नेगरी हामीले १४९ लाई तोकेका छौँ । पहिलो १४९ मा पूर्ण परिणाम प्राप्त गर्न धेरै सजिलो छैन । त्यसमाथि नेपालमा ७५३ पालिका छन् । १४९ भनेको पाँच भागको एक भाग मात्रै हो । बाँकीलाई कसरी अघि लैजाने यसमा स्पष्ट नीति बन्नुपर्छ ।’
मन्त्री पौडेलले क्षयरोगको बिरामी मन्त्रालय, चिकित्सकले खोजेर नभेटिने भन्दै पालिकाले क्षयरोगको बिरामी खोज्नुपर्ने बताउनुभयो । क्षयरोग पत्ता लगाउन स्थानीय तहलाई सक्रिय बनउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्