१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


नयाँ वर्षमा नेपाली सेफहरुको सम्मेलन हुँदै


377
Shares

काठमाडौं । विश्वका विभिन्न देशमा रहेका पाक कलामा दक्ष नेपाली सेफ (भान्से)हरु आगामी नयाँ वर्षको बैशाखमा नेपालमा भेला हुने भएका छन् । २०८२ वैशाख ६ शनिबारका दिन सेफहरुको सम्मेलन हुने भएको हो ।

सेफ सोसाइटी नेपालले काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको हो । अन्तर्राष्ट्रिय सेफ सोसाइटी क्यानाडाका वरिष्ठ उपाध्यक्ष ईश्वर पन्तका अनुसार त्यस अवसरमा विश्वभर छरिएर रहेका नेपाली सेफहरु एकै स्थानमा भेला हुने छन् । करिब ५ हजार सेफ प्रतिनिधिहरु सहभागी गराउने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

पर्यटन मन्त्रालय र पररास्ट्र मन्त्रालयको सहयोगमा हुने सम्मेलनको उद्देश्य नेपाली सेफहरुलाई एकतावद्ध गराउनु रहेको जनाइएको छ ।

नेपाली खाना संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्न उक्त सम्मेलनले सहयोग पुग्ने विश्वास आयोजकको छ । सेफहरुको पेशागत चुनौती र अवसरहरुबारे पनि छलफल गरिने भएको छ । त्यस अवसरमा विभिन्न परिकारका ४० वटा स्टल राखिने छन् ।

ती स्टलहरुमा नेपाली सेफहरुले अन्तर्राष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने छ । कार्यक्रममा विभिन्न सेफ अवार्ड प्रदान गरिने छ भने चर्चित कलाकारहरुको सहभागितामा सांगीतिक कार्यक्रम पनि हुनेछ ।

सम्मेलनलाई नेपाली सेफहरुको प्रथम महाधिवेशनका रुपमा लिइएको छ । सम्मेलनको संयोजकमा सेफ अरुण अधिकारी छन् । सन् २०१८ मा युएईबाट शुरु भएको सेफ सोसाइटी अहिले नेपाल लगायत ३६ देशमा संगठित भएको जनाइएको छ ।

त्यस अवसरमा सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्ड (उत्कृष्ट सेफहरूलाई सम्मान), सोसाइटीको किताब विमोचन र लोपोन्मुख संस्कृतिका झाँकी प्रस्तुत गरिने छन् ।

सम्मेलनले विश्वभरका सेफहरुको उपस्थितिमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । त्यसअघि अहिले विभिन्न मुलुकमा अधिवेशन चलिरहेको पन्तले बताउनुभयो । ३६ देशमा अधिवेशन सम्पन्न भइसकेको छ ।

भेलाका अवसरमा ‘भान्से महासङ्ग्राम २०८२’ कलेज स्तरको ‘कुकरी’ प्रतियोगिता आयोजना हुनेछ भने यो पेशामा कम्तिमा ६ वर्ष काम गरेको सेफलाई सदस्यता तथा प्रमाणपत्र दिइने भएको छ ।