१६ चैत्र २०८१, शनिबार | Sat Mar 29 2025


कुलमानलाई हटाइएको विरोधमा सडकदेखि सदन तातियो


0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीले सडकदेखि सदनसम्म तातेको छ । मंगलबार दिनभर घिसिङको पुनर्वहालीको माग गर्दै सडकमा विभिन्न पक्षले सरकारविरुद्ध प्रदर्शन गरे भने बुधबार सडक प्रदर्शनकासाथै प्रतिनिधि सभा र राष्ट्रियसभा दुवै सदन कुलमानकै बर्खास्तीको विषयले अवरुद्ध हुन पुगे ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेसँगै सरकारको चौतर्फी विरोध जारी छ । सडकमा मात्र नभई घिसिङको बर्खास्तीको विषयले संसदलाई पनि तताईदिएको छ । मंगबार बिहानदेखि साँझसम्म सरकारविरुद्ध भएका प्रदर्शनहरुले सरकारले निर्णय सच्याउने झिनो आशा गरिए पनि सरकार आफ्नो निर्णयबाट पछि नहट्ने देखिएपछि बुधबार विपक्षी दलहरुले संसद वैठक अवरोध गरे । सभामुख देवराज घिमिरेले बुधबार सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले अवरोध हटाउन पटक पटक प्रयास गरेपनि अवरोध नहटेपछि बैठक स्थगीत भएको जानकारी दिनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कुलमानलाई हटाएको विषयमा प्रधामन्त्री केपी ओलीले स्पष्टिकरण नदिएसम्म सदन चल्न नदिने र चित्तबुझ्दो जवाफ नआए सडकमा उत्रिने चेतावनी दिनुभयो ।

सदनमा माओवादी सांसद शक्ति बस्नेतले दुई तिहाईको आडमा सरकारले कुलमान घिसिङलाई हटाएको आरोप लगाउनुभयो । दुई तिहाइको सामथ्र्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको भन्दै उहाँले कुलमानलाई हटाउने चित्त बुझ्दो कारण नदिएसम्म वैठक चल्न नदिने बताउनुभयो । यता प्रधानमन्त्री केपी ओलीले भने आप्mनो निर्णयको प्रतिरक्षा गर्न लागिरहेको बेला सत्ता साझेदार दल नेपाली काँग्रेसले पनि सरकारको निर्णयको खुलेरै समर्थन समेत जनाएको छ ।

कुलमान बर्खास्ती प्रकरण विरुद्धको प्रदर्शन राजधानीमा मात्रै सिमित छैन । देशैभर मानिसहरु स्वस्फूर्त प्रदर्शनमा उत्रिएका छन् । मंगलबार साँझ उपत्यकाा दर्जन बढी स्थानमा मसाल जुलुस प्रदर्शन भएको थियो भने राजधानी बाहिर पनि मसाल जुलुहरु प्रदर्शन गरिएको थियो । सर्वसाधारणको स्वस्फूर्त प्रदर्शनमा विपक्षी दलहरुले पनि ऐक्यवद्धता जनाएपछि यो विषय झन् तात्ने देखिएको छ । वर्तमान सरकार गठन भएदेखि नै सरकार कुलमान घिसिङलाई हटाउने मूख्य एजेण्डा बनाए जस्तो देखिएको थियो । घिसिङलाई हटाउँदा जनआक्रोश पोखिने त्रासकै कारण सरकार अहिलेसम्म हच्किंदै आएको थियो । तर सरकारले यस्तो बेलामा घिसिङलाई बर्खास्त गरिदियो कि जति बेला सिंगो देश नै आन्दोलनमय बनिरहेको छ । कुलमान प्रकरणले सरकार विरोधी आक्रोश झन् उग्र हुने निश्चत छ ।