१७ चैत्र २०८१, आइतबार | Sun Mar 30 2025


प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौं : माओवादी केन्द्र


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताउनुभएको छ ।

बिहीबार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सापकोटाले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । उहाँले सरकारलाई खबरदारी गर्ने थलो संसद भएको बताउनुभयो ।

सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरुले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताउनुभयो । उहाँले सरकारले बदनियत राखेर काम गरेकाले संसदमा उभिएर जवाफ दिने हिम्मत नगरेको आरोप लगाउनुभयो । कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरुले सुशासनको बाटोमा आउन खबरदारी गरेको उहाँको भनाइ छ ।

सांसद सापकोटाले वर्तमान सरकार विचौलियाहरुले बनाइ दिएको र उनीहरुकै स्वार्थ पूरा गर्न उनीहरुकै हितमा चलेको आरोप लगाउनुभयो । उहाँले सांसदहरु बोल्दै गर्ने तर सरकारले स्वच्छाचारी र निरंकुश गतिविधि गरी रहने हो भने संसद चल्नु र नचल्नुमा कुनै मूल्य नहुने जिकिर गर्नुभयो ।