
काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शनलाई ध्यानमा राख्दै भोलि काठमाडौंको सुरक्षा व्यवस्था कडा तुल्याईने भएको छ ।
सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ । सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिने भएको छ ।
आवश्यकता अनुसार एसएसपी अधिकारीले कमाण्ड सेन्टर र फिल्डमा नै गएर सुरक्षा व्यवस्थापन गर्ने उपत्यका प्रहरी कार्यालयको तयारी छ । सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमाण्ड सेन्टर’ स्थापना गरिएको छ ।
कमाण्ड सेन्टरबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्