१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


राजसंस्था र गणतन्त्र पक्षधरको काठमाडौंमा आज बेग्लाबेग्लै प्रदर्शन


1.027k
Shares

काठमाडौं । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरले आज काठमाडौमा बेग्लाबेग्लै प्रदर्शन गर्दैछन् ।

गणतन्त्रपक्षधरको प्रदर्शनको नेतृत्व चार दलीय समाजवादी मोर्चाले गर्दैछ भने राजसंस्था पक्षधरको प्रदर्शनको नेतृत्व राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्दैछ ।

राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दैछन् भने गणतन्त्रवादीहरूको प्रदर्शनका लागि भृकुटीमण्डप तोकिएको छ । समाजवादी मोर्चामा आवद्ध भएका नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने मोर्चाले जनाएको छ । मोर्चाले निकाल्ने जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुनेछ ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको हो । राजावादीलाई रिङरोडबाहिर मात्रै जुलुस निकाल्न दिइने प्रशासनले जनाएको छ ।

आज दुवैै पक्षको प्रदर्शनबाट हुनसक्ने भिडन्तलाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । गणतन्त्र पक्षधर र राजसंस्था पक्षधरलाई भेट्न नदिने विशेष रणनीति अनुरुप प्रदर्शनका लागि बेग्लाबेग्लै स्थान तोकिएको हो । सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरीका थप दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिने जनाइएको छ ।