
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा वंशको शासन फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
अध्यक्ष नेपालले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले फेरि राजतन्त्र स्वीकार नगर्ने बताउनुभयो । २४० वर्षको शाह वंशको शासन र १०४ वर्षको राणा शासनले नेपाली जनतालाई दास बनाएको भन्दै उहाँले अब नेपाली जनताले कसैको दासता स्वीकार नगर्ने बताउनुभयो । अध्यक्ष नेपालले शाह वंशले देशलाई बर्बाद बनाएको बताउनुभयो । उहाँले राजतन्त्रले देशको हितमा कहिल्यै काम नगरेको जिकिर गर्नुभयो । उहाँले देश इतिहासको पछाडी फर्किन नसक्ने दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले जनताको समस्याबाट आफूहरु चिन्तित भएको बताउनुभयो । उहाँले पुँजीवादी व्यवस्था र सत्ता सञ्चालन गर्नेहरुको नालायकीपनका कारण जनताले दुःख पाएको बताउनुभयो । उहाँले नेपाली जनताका समस्या समाधानका लागि समाजवादी व्यवस्था आवश्यक भएको बताउनुभयो । उहाँले नेपाली विशेषतासहितको समाजवादी प्रणालीको खाका आफूहरुसँग भएको दाबी गर्नुभयो । उहाँले सत्ता सञ्चालन गर्नेहरु यथास्थितिमा रुमल्लिएको आरोप लगाउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले जनताको समस्यालाई वास्ता नगरेर तमासे भएर बसेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सरकार जनताबाट टाढिएकाले जनताको पीडा बुझ्न नसकेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्